व्यवसाय कसरी बढाउने ?

व्यवसाय कसरी बढाउने ?

हामी मध्ये कोही जागिरे छौ, कोही सानो तिनो काम गरेर स्वरोजगार छौ भने केहीले सानो तिनो व्यवसाय सुरु गरेका छौ । कतिले भर्खरै मात्र व्यवसाय गर्ने योजना बनाउदै हुनुहुन्छ होला । आज हामी व्यवसाय सुचारु रूपमा सफलता पूर्वक कसरी अगाडि बढाउने बारे केही बुँदाहरु प्रस्तुत गरी रहेका छौ ।
१. कर्मचारीको सम्मान गर्नुहोस् ः ग्राहकलाई भन्दा कर्मचारीलाई बढी महत्त्व दिनु पर्छ किनकि यदि कर्मचारीहरू खुसी छन् भने उनीहरूले ग्राहकलाई राम्रो सेवा दिनेछन् र ग्राहक आफै सन्तुष्ट हुनेछन् । त्यसैले सर्वप्रथम कर्मचारीको सम्मान गर्नु अत्यन्त आवश्यक हुन्छ । एउटा कर्मचारीले नै एउटा व्यवसायलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । जसरी एउटा राम्रो र महँगो कार टायर बिना कुद्न सक्दैन । त्यसै गरी कम्पनी जति सुकै ठुलो भए पनि कर्मचारीको राम्रो प्रदर्शन बिना चल्न सक्दैन । एउटा कर्मचारीले आफ्नो राम्रो प्रदर्शन त्यस बेला गर्छ, जब उसको मेहनतको सट्टा उसले सम्मान पाउछ । कर्मचारीलाई कामदार जस्तो नभई व्यवसायको पार्टनर जस्तो व्यवहार गर्नु पर्छ । तर उनीहरूको गल्तीलाई बेवास्ता भने गर्नुहुँदैन । कर्मचारीबाट कुनै गल्ती भएमा बेइज्ती गर्नु भन्दा उसलाई उसको गल्ती महसुस गराई सुधार्न प्रेरित गर्नु पर्छ ।
२. मानिसहरूसँग राम्रो व्यवहार गर्नु ः हामी हाम्रो वरिपरिका व्यक्ति सँग कसरी व्यवाहार गर्छौ, त्यो हाम्रो व्यक्तित्वबाट नै झल्किन्छ । यदि तपाईँ कुनै तरकारी पसलमा जानु भयो र कुनै तरकारीको भाउ घटाई दिन भन्नु भयो तर उसले नाक खुम्च्याएर हेप्दै, यहाँ भन्दा कममा कतै पाइदैन, लिने भए लेउ नत्र जाऊ भन्यो भने अर्को पटक तपाईँ त्यहाँ फर्केर जान मन पराउनु हुन्न तर यदि तरकारी पसलेले विनम्र भई, ‘हेर्नु न तरकारीको भाउ अहिले बढेर आएको छ, महँगी पनि बढी रहेको छ । मेरो पसलको भाडा पनि बढी सकेको छ, त्यही भएर मैले चाहेर पनि भाउ घटाउन सक्दिन’ भन्छ भने हामी उसलाई पुरै पैसा तिर्न तयार हुन्छौ र अर्को पटक पनि उसकै पसल खोज्दै जानेछौ ।
हामी आफू जस्तो व्यवाहार गर्छौ, त्यसैको परिणाम पाउनेछौ । हामी सँग मानिसले जुन व्यवाहार गर्छन् , त्यो हाम्रै व्यवाहारका कारण हुन्छ । त्यसैले व्यवसाय बढाउने एउटा सुन्दर उपाय ग्राहक सँग राम्रो व्यवहार गर्नु हो । एउटा सन्तुष्ट ग्राहकले अझै १० जना ग्राहक बनाई दिन्छन् र हाम्रो व्यवसाय बिस्तारै बढ्नेछ ।
३. मिठो बोल्नु ः एउटा व्यवसायीले आफ्नो बोलीमा मिठास ल्याउनु पर्छ । कसैलाई अपशब्द वा गाली गरेर कसैको मन जित्न सकिँदैन । त्यसैले सबै सँग चाहे त्यो ग्राहक होस् वा परिवारको कुनै सदस्य सबै सँग मिठो बोल्नु पर्छ । हाम्रो बोलीले गर्दा कोही खुसी हुन्छ भने त्यो भन्दा राम्रो अरू के होला र ? मिठो बोल्ने व्यक्तिले प्रायः कार्य क्षेत्रमा राम्रो प्रदर्शन गर्छन् र सफल पनि हुन्छन् किनकि उनीहरुले मिठो बोलेर ग्राहकको मन र विश्वास दुवै जित्छन् ।
४. ग्राहकलाई सही तरिकाले गाइड गर्नु ः सधैँ आफ्ना ग्राहकलाई आफ्नो वस्तुको बारेमा सही जानकारी दिनु पर्छ । यदि हामीले सही जानकारी दिएनौ भने पनि ग्राहकले वस्तु प्रयोग गरेर थाहा पाई हाल्ने छन् र यदि तपाईँले दिएको जानकारी गलत भएमा ग्राहकले फेरि विश्वास गर्दैनन् ,जुन व्यवसायका लागि राम्रो होइन । एउटा व्यवसाय सफल हुनुमा एक एक ग्राहकको सन्तुष्टी निकै महत्त्वपूर्ण हुन्छ ।
५. इमान्दारीपूर्वक काम गर्नु ः बेइमानी गरेर मानिसहरू चाडै माथि पुग्छन् तर जब तल झर्छन् , एकै झट्कामा सबै समाप्त हुनेछ । यस्ता थुप्रै व्यवसायहरु छन् , जुन राता रात शिखरमा पुगे र धराशायी पनि भए । यसको सट्टा इमान्दारी पूर्वक गरिएको व्यवसाय बिस्तारै माथि उठ्छ तर जब सफल हुन्छ, मानिसहरूले यसको उदाहरण दिनेछन् ।
६. व्यवाहार कुशल बन्नु होस् ः व्यवसायी आफू व्यवहारकुशल बन्नु पर्छ र आफ्ना कर्मचारीलाई पनि व्यवाहार कुशल बनाउनु पर्छ । प्रायः हामीले सुनेका छौ होला ,कति व्यक्तिले हामीलाई फलाना ठाउँमा गएर सामान किन्नु, त्यहाँको पसलेको व्यवाहार निकै राम्रो छ भन्ने गर्छन् । कहिले काही हामी देख्ने गर्छौ कि केही व्यक्तिको व्यवाहार राम्रो छैन तर पनि उनीहरूको व्यापार राम्रो सँग चलिरहेको छ । वास्तवमा उनीहरूको व्यापार १० वर्ष अघि जस्तो थियो , त्यसै अनुरूप नै चली रहेको हुन्छ । अर्थात् उनीहरूले कुनै उन्नति गर्न सकेको हुँदैन र जहाँको तही हुन्छन् । यस्ता व्यक्तिको व्यवसायको जग उनीहरूको बाबु बाजेले राखेको हुन्छ र स्वयम उनीहरूले मुस्किलले व्यवसाय चलाउने गर्छन ्।
७. शान्त भई समझदारी पूर्वक निर्णय गर्नुहोस् ः सधँै शान्त भई धेरै सोचेर मात्र निर्णय गर्नु पर्छ । विशेषगरि त्यस बेला जब व्यवसाय अघि बढाउनु पर्ने हुन्छ । व्यक्तिले हरेक सकारात्मक तथा नकारात्मक पक्षका बारेमा सोच्नु पर्छ । यो सत्य हो कि जोखिम नलिइ विकास गर्न सकिँदैन तर पनि कति जोखिम हुन सक्छ, त्यसको मूल्याङ्कन पहिला नै गरेको छ भने त्यसबाट योजनाका बारेमा फेरि सोच्न मद्धत मिल्नेछ कि कतै योजनामा कुनै कमी त छैन ।

Share This: