सफल हुन प्रेरक विचारहरू

सफल हुन प्रेरक विचारहरू

जब कुनै व्यक्ति सफल हुन्छ, उसले आफ्नो जीवन सफल त बनाउछ नै साथै उसको प्रेरक विचारबाट अरू पनि लाखौ व्यक्तिहरू सफल बन्न सक्छन् । उनीहरूको सकारात्मक विचारहरूमा सफल हुने प्रेरक सन्देश लुकेको हुन्छ । आजको समयमा सबै सफल बन्न चाहन्छन् । सफल व्यक्ति सँग कुरा गर्दा वा उनीहरूको कुरा सुन्दा थुप्रै उपयोगी कुराहरू थाहा हुन्छ । ती कुरा वा विचारहरू जम्मा गर्दा एउटा सफलताको मन्त्र तयार हुन पुग्छ । सफलताको यस्तो मन्त्र जो सँग हुन्छ, उसलाई सफल हुनबाट कसैले रोक्न सक्दैन तर यसका लागि उक्त व्यक्तिले त्यस मन्त्रलाई आफ्नो जीवनमा लागू गर्नु पर्नेछ । आज हामी सफल व्यक्तित्वहरुले दिएका सफलताको मन्त्रहरुको व्याख्या गर्न गइरहेका छौ, जसले हाम्रो सफलतामा महत्त्वपूर्ण स्थान ओगट्न सक्छ ।
‘जब मानिसहरूले तपाईँको काम वा तपाईँको आदतको नक्कल गर्न थाल्छन् , त्यसबेला बुझ्नुहोस् कि तपाईँ सफलता तिर बढीरहनु भएको छ ।’
कुनै व्यक्ति जो जीवनमा सफल हुन चाहन्छ र त्यस काममा अघि बढी सकेको छ । यदि उ जान्न चाहन्छ कि उ सही बाटोमा हिडीरहेको छ वा छैन भने यो जान्ने एकदमै राम्रो तरिका यो हो कि विचार गर्नुहोस् , उसको विचार वा आदतको अरूले नक्कल गरिरहेका छन् वा छैनन् । यदि अरु व्यक्तिले तपाईँको नक्कल गरीरहेका छन् भने तपाईँ सही बाटोमा हुनुहुन्छ ।
‘ यदि तपाईँ शिखरमा पुग्न चाहनुहुन्छ भने धेरै केही गर्नुपर्दैन । मात्र त्यस बेला शिखरमा बसेको व्यक्ति भन्दा एक पाइला अघि बढ्नुहोस् ।’
यो कुरा सत्य हो कि यदि तपाईँ आफ्नो कामको शिखरलाई चुम्न चाहनु हुन्छ भने त्यसबेला जो शिखरमा छ, उ भन्दा एक कदम अघि बढेर काम गर्नुपर्छ अर्थात् एउटै मात्र अलग स्टेपले तपाईँलाई शिखरमा पु¥याउन सक्छ ।
‘आज सम्म जो सफल भए, ती मध्ये कसैले पनि आज सम्म अवसरहरुको कमीको गुनासो गरेका छैनन् ।’
अवसरहरू सधैँ हाम्रो नजिकबाट आउछन् अनि जान्छन् । जसले यसलाई चिन्न सक्दैनन् , उनीहरू सधैँ अवसरको कमी भएको गुनासो गरी रहन्छन् र असफल कहलाउन पुग्छन् । जसले ती अवसरहरू चिन्छन् र फाइदा लिन्छन् , उनीहरूको जीवनमा कहिल्यै अवसरको कमी हुँदैन र उनीहरू हरेक काममा सफल हुन्छन् । वास्तवमा कमी अवसरको होइन, त्यसलाई चिन्ने व्यक्तिको हुन्छ ।
‘यदि जीवनमा सफल हुन चाहनुहुन्छ भने त्यो काम गर्नुहोस् , जसमा तपाईँको रुचि छ किनकि त्यो काम तपाईँले राति २ बजे पनि गर्न सक्नुहुन्छ ।’
कुनै पनि व्यक्तिले सधैँ त्यही काम गर्नुपर्छ, जुन काममा उसको मन लाग्छ । यस्तो हुँदा उसले कुनै तनावमा नरही खेल खेले जस्तै गरेर काम सम्पन्न गर्न सक्छ । मनपरेको काम गर्दा थकान हुँदैन र बढी काम गर्न सकिन्छ । रातको दुई बजे पनि उत्साहित भई काम गर्न मन लाग्छ ।
‘असफलताको बढी चिन्ता नगर्नुहोस् र आफ्नो काममा मात्र ध्यान दिनुहोस् किनकि सफल हुनका लागि एक पटक मात्र सही हुनुपर्छ ।’
यदि तपाईँ कुनै काममा सफल हुन चाहनुहुन्छ भने असफलताको बारेमा धेरै नसोच्नुहोस् । यदि असफल हुनुभयो भने पनि प्रत्येक असफलताबाट केही राम्रो सिक्नुहोस् र निरन्तर अघि बढी रहनुहोस् । जब तपाईँले त्यो काम सही तरिकाले गर्नुहुन्छ, तपाईँ सफल बन्नुहुनेछ । त्यसैले असफलता देखि नडराउनुहोस् र सिकी रहनुहोस् ।
‘संसारका हरेक व्यक्तिमा एउटा सीप हुन्छ । फरक यति मात्र हुन्छ कि कसैको लुक्छ भने कसैको देखिन्छ ।’
यस संसारमा हरेक मानिसमा एउटा न एउटा सीप हुन्छ तर संसारका करोडौ व्यक्तिहरूले जीवनभर थाहा पाउदैनन् कि उनीहरूमा के सीप लुकेको छ । लाखौ व्यक्तिले आफूमा भएको गुण पत्ता लगाउछन् तर आत्मविश्वासको कमीका कारण त्यो लुक्ने गर्छ तर हजारौँ व्यक्ति यस्ता छन् ,जसले आफू भित्रको सीप चिनेर संसारलाई त्यो देखाउछन् र सफल बन्न पुग्छन् ।
‘यस संसारमा केही पनि असम्भव छैन किनकि जुन काम गरी सकिएको छ, त्यो तपाईँ सरलताले गर्न सक्नुहुन्छ र जुन काम अहिले सम्म गरिएको छैन, त्यो गर्ने क्षमता तपाईँमा छ ।’
यो संसार सम्भावनाले भरिएको छ । यहाँ असम्भव भन्ने कुनै कुरा छैन । हरेक दिन असम्भव लाग्ने कामहरू सम्भव भइरहेका छन् । हरेक असम्भवलाई निरन्तर प्रयास द्धारा सम्भव बनाउन सकिन्छ ।
‘आत्मविश्वास एउटा ज्योति जस्तै हुन्छ जुन कुरामा पर्छ, त्यो टल्किन्छ । त्यसबेला त्यो टल्केको सारा दुनियाले देख्छ ।’
आत्मविश्वास एउटा ज्योति जस्तै हुन्छ । जसरी एउटा सुन्दर कोठा राम्रो सँग सजाइएको भए पनि त्यहाँ अँध्यारो छ भने त्यसको सुन्दरता बेकार हुन्छ, तर जब त्यहाँ उज्यालो छाउछ, त्यो कोठा जगमगाउछ । त्यसै गरी आत्मविश्वासले हाम्रो जीवनमा प्रकाश लिएर आउँछ । त्यसबेला हाम्रो शक्ति जाग्नेछ र हामी सफलता तिर बढ्दै जानेछौ ।

Share This: