विश्वास

विश्वास

टेस आठ वर्षकी सानी केटी थिई । एक दिन उसले आफ्नो आमाबुबालाई भाइ जोनको बारेमा कुरा गर्दै गरेको सुनी । उसले यती मात्रै बुझी कि उसको भाइ निकै बिरामी छ र उसको आमाबुबा सँग सबै पैसा सकिइ सकेको छ । आउँदो महिना उनीहरू यो घर बेचेर भाडाको घरमा जानेछन् किनकि भाइको ठुलो अप्रेशन गर्नु पर्नेछ र त्यसका लागि यो घर बेच्नै पर्छ । टेसका बुबाले भन्दै थिए ,कसैले उनीहरूलाई ऋण दिइरहेको छैन अब त कुनै चमत्कारले मात्र जोनको ज्यान बचाउनेछ । त्यो सुनेर उसकी आमा रुदै थिइन् । त्यसपछि टेस आफ्नो कोठामा आई र आफ्नो दराजबाट एउटा प्लाष्टिकको बट्टा निकाली, जसलाई उसले आफ्नो खुत्रुके बनाएकी थिई । उसले सबै सिक्काहरु खन्याई र गन्न थाली । दुई पटक गनेर उसले सबै सिक्का फेरि बट्टामा राखी र सुती । उ ढुक्क थिइ कि उसको भाइको उपचार अब हुनेछ ।
अर्को दिन उ नजिकैको औषधी पसलमा आफ्नो पैसा लिएर पुगी । काउन्टरमा बसेको व्यक्ति ग्राहकहरुलाई दबाई दिनमा व्यस्त थियो । टेसले एउटा सिक्का निकालेर काउन्टरमा ठक ठक पारी । त्यसपछि पसलेले टेस तिर हेरेर झर्किदै भन्यो, ‘के चाहियो ?’ टेसले भनी, ‘मेरो भाइ सा¥है बिरामी छ, म उसको लागि चमत्कार किन्न चाहन्छु ।’ पसलेले भन्यो, ‘के अरे, मैले राम्रो सँग बुझिन ?’ टेसले भनी, ‘मेरो भाइको नाम जोन हो, उसलाई ठुलो रोग लागेको छ । बुबाले भन्नुभएको अब उसलाई कुनै चमत्कारले मात्र बचाउन सकिन्छ । एउटा चमत्कारको कति पैसा पर्छ ?’
पसलेले भन्यो, ‘हामी कुनै चमत्कार बेच्दैनौ नानी, म तिम्रो कुनै मद्धत गर्न सक्दिन ।’ ‘म सँग पैसा छ, यदि पैसा पुगेन भने म अझै ल्याउन सक्छु, कति पैसा लाग्छ, एक पटक भनी दिनुहोस् न टेसले भनी ।’
यो वार्तालाप पसलेको भाइले जो पसलमा बसिरहेको थियो, उसले ध्यान दिएर सुनीरहेको थियो । उसले टेस सँग भन्यो, ‘तिम्रो भाइलाई कस्तो चमत्कारको आवश्यकता छ ?’
‘मलाई राम्रो सँग थाहा छैन, उ निकै बिरामी छ । मम्मीले भन्नुभएको उसको ठुलो अप्रेशन गर्नुपर्छ अरे तर मेरो बुबा सँग पैसा छैन ।’ ‘तिमी सँग कति पैसा छ ?’
‘एक डलर र ११ सेन्ट तर म अझै ल्याउन सक्छु ।’ टेसले भनी ।
‘ए हो र ?’ चमत्कार पनि त्यति नै पैसामा आउँछ ’ व्यक्तिले मुस्कुराउदै भन्यो र टेस सँग पैसा लियो अनि सोधे ‘तिम्रो घर कहाँ छ, म तिम्रो भाइ, आमा बुबा सँग भेट्न चाहन्छु, हुन सक्छ म सँग चमत्कार छ ।’
ती व्यक्ति अरू कोही नभई डाक्टर कार्लटोन आर्मस्ट्रङ थिए, जो एक न्यूरो सर्जन थिए । उनले जोनको अप्रेसन गरे र अप्रेसन सफल रहयो । उनले अप्रेसन गरेको पैसा लिएनन् । टेसका आमाबुबा यस घटना देखि छक्क परी रहेका थिए । उनीहरू भनिरहेका थिए ‘यो त साँच्चै नै चमत्कार भयो ।’ वास्तवमा चमत्कार त भयो तर टेसको अटुट विश्वासका कारण । वास्तवमा विश्वासले जस्तो सुकै असम्भव कुरालाई पनि सम्भव बनाउछ ।

Share This: