‘गङनम स्टाइल’लाई उछिन्यो ‘सि यू अगेन’ले

‘गङनम स्टाइल’लाई उछिन्यो ‘सि यू अगेन’ले

कोरियाली गायक साईको ‘गङ्नम स्टाइल’ अब यूट्यूवमा सर्वाधिक हेरिएको भिडियो रहेन । विगत पाँच वर्षदेखि यसले कायम गरेको किर्तिमान भंग भएको छ ।
गङनम स्टाइल यूट्यूवमा यति धेरै हेरिएको थियो कि यसले यूट्यूवको प्ले काउन्टरलाई नै भत्काइदिएको थियो । यसले अधिकतम संभावित भ्यूजको २ अर्ब १४ करोड ७४ लाख ८३ हजार ६ सय ४७ को सीमालाई तोडिदिएपछि कम्पनीले यसको कोड पुनर्लेखन गर्नुपरेको थियो ।
तर, अहिले आएर गङनम स्टाइलको रेकर्ड अर्को म्युजिक भिडियोले तोडेको छ । विज खालिफा र चार्ली पुथको ‘सि यू अगेन’ को म्युजिक भिडियोले यसलाई उछिनेको हो । मन छुने यो गीत अहिलेसम्म २ अर्ब ९० करोडभन्दा बढि पटक हेरिसकिएको छ । जबकि गङनम स्टाइलको अहिलेसम्मको भ्यूज दुई अर्ब ८९ करोड ४४ लाख २६ हजार ४ सय ७५ रहेको छ । सि यू अगेनमार्फत खालिफा र पुथले यूट्यूवबाट २९ लाख डलर कमाई गरिसकेका छन् ।
‘म सन् २००७ मा यूट्यूवमा जोडिदा आफ्नो भिडियोले १० हजार भ्यूज पाउने लक्ष्यका राखेको थिएँ,’ चार्ली पुथले ट्विटरमा लेखेका छन्, ‘अहिले सि यू अगेनको भ्यूज हेर्दा पत्याउनै सकिरहेको छैन ।’
यो गीत एक्सन फिल्म फ्यूरियस ७ मा समावेश थियो, जुन फिल्मको निर्माण सकिनुपूर्व कार दुर्घनामा मृत्यू भएका अभिनेता पाउल वाल्करको सम्झनामा लेखिएको हो । यो सन् २०१५ मा विश्वव्यापीरुपमा सबैभन्दा बढि विक्री भएको गीत थियो । ग्रामी र ओस्कार अवार्डका लागि यो गीत मनोनयनमा परेको थियो ।

Share This: