तीन वटा रुख

तीन वटा रुख

कुनैबेला एउटा सहर नजिकैको जङ्गलमा तीनवटा रुख थियो । ती तीनवटै रुखहरु सुख, दुःख र आफ्नो सपनाहरू एक अर्का सँग साझा गर्ने गर्थे । एक दिन पहिलो रुखले भन्यो, ‘म खजाना राख्ने ठुलो बाकस बनिन चाहन्छु । म भित्र हिरा, मोती, सुनचादीका गरगहनाहरु राखिनेछ, मेरो काठमा सुन्दर बुुट्टाहरु काटिनेछ । सारा संसारले मेरो सुन्दरता निहार्नेछन् ।’
दोस्रो रुखले भन्यो, ‘म एउटा ठुलो पानीजहाज बनिन चाहन्छु । राजा महाराजाहरु म माथि बसेर समुन्द्र पार गर्नेछन् र म समुन्द्रको पानीमा गोता लगाउनेछु । मानिसहरू म भित्र आफूलाई सुरक्षित महसुस गर्नेछन् ।’
तेस्रो रुखले भन्यो, ‘म त यस जङ्गलको सबैभन्दा अग्लो रुख बनिन चाहन्छु । मानिसहरूले टाढैबाट मलाई चिनुन् र मलाई देखेर उनीहरूले ईश्वरको स्मरण गरून् । मेरो हाँगा स्वर्ग सम्म पुगोस् । म संसारको सर्वश्रेष्ठ रुख बन्न चाहन्छु ।’
यस्तै सपनाहरू देख्दा देख्दै केही वर्षहरु बिते । एक दिन जङ्गलमा केही दाउरेहरु आए । ती मध्ये एउटा दाउरेले पहिलो रुखलाई देखेर भन्यो, ‘हेर, यो रुख कति राम्रो छ, यसलाई बेच्दा त निकै राम्रो पैसा आउने थियो’ त्यति भनेर उसले पहिलो रुख काट्यो । पहिलो रुख आफू सुन्दर बाक्सा बनिने कुरामा विश्वस्त थियो ।
दोस्रो रुखको बारेमा दाउरेले भन्यो, ‘यो रुख पनि अग्लो र बलियो छ । म यसलाई जहाज बनाउनेलाई बेच्छु ।’ यो सुनेर दोस्रो रुख खुसी भयो । दाउरेहरु जब तेस्रो रुखको छेउमा आए ,त्यो रुख निकै डरायो किनकि उसलाई काट्दा उसको सपना पुरा हुँदैन थियो । एउटा दाउरेले भन्यो, ‘म यो रुखबाट विशेष केही बनाउन चाहदिन । त्यसैले यो रुख म लान्छु ।’ यसरी उनीहरुले तीन वटै रुख काटे ।
पहिलो रुख एउटा गोठालोले किन्यो र त्यसबाट गाईबस्तुलाई चारो खुवाउने काठको बाकस जस्तो बनायो । पहिलो रुखले आफ्नो यो हविगत होला भन्ने सपनामा पनि सोचेको थिएन । दोस्रो रुखलाई काटेर माछा मार्ने सानो नाउ बनाइयो । उसको पनि ठुलो जहाज बनेर राजा महाराजा ओसार्ने सपना चुर भयो । तेस्रो रुखलाई टुक्रा टुक्रा पारी चिरेर एउटा अँध्यारो कोठामा थुनियो ।
एक दिन गोठमा एउटा मान्छे आफ्नी श्रीमतीसँग आयो । महिलाले त्यहाँ बच्चा जन्माई । त्यसपछि त्यही काठको बाकसलाई बच्चाको कोक्रोको रूपमा प्रयोग गरियो । पहिलो रुखले आफूलाई धन्य मान्यो किनकि अब उ संसारको सबैभन्दा मूल्यवान् सम्पती अर्थात् एउटा बच्चालाई आफूमा राखी रहेको थियो ।
समय बित्दै गयो । केही वर्ष पछि केही युवकहरु दोस्रो रुखबाट बनेको नाउमा बसेर माछा समात्न गए । समुन्द्रको बिचमा पुगेपछि ठुलो आँधी आयो । सबैले आज जीवनको अन्तिम दिन रैछ भन्ने सोचे । त्यतिकैमा एउटा युवकले अघि बढेर, ‘ए आँधी अहिलेका लागि शान्त भई हाल’ भन्यो । त्यसपछि आँधी शान्त भयो । त्यो देखेर दोस्रो रुखले चित्त बुझायो कि राजा महाराजाहरु म माथि नचढेर के भयो त, यस्तो दिव्य व्यक्तिलाई आफू माथि चढाएर समुन्द्र यात्रा गराउन पाउँदा मेरो जीवन धन्य भयो भन्ने सोच्यो ।
त्यस्तै एक दिन केही मानिसहरूले एउटा घाइते व्यक्तिलाई अँध्यारो कोठामा लिएर आए र काठको क्रुश बनाएर त्यस व्यत्mिलाई त्यसमा झुण्ड्याए अनि चोकमा लगेर गाडे । तेस्रो रुखलाई आफ्नो यस्तो दुःखद प्रयोग गरिएकोमा आफ्नै जीवन प्रति धिक्कार भएर आयो । ४, ५ दिन पछि रुखले महसुस ग¥यो कि उसले भगवान्का पुत्रलाई पो बोकिरहेको रहेछ । उसलाई आफूले इश्वरत्व प्राप्त गरेको अनुभूति भयो ।
माथिको कथाबाट बुझ्नुपर्छ कि जीवनमा आफूले सोचेको जस्तो लक्ष्य पाउन धैर्यता गर्न सक्नुपर्छ । सुरुवात्मा सोचे जस्तो फल प्राप्त नभए पनि मनमा कामना गरिरहने हो भने सोचेको फल अवश्य प्राप्त हुनेछ ।

Share This: